सरकार असफल भैसक्यो – अध्यक्ष यादव – Chautari Khabar

सरकार असफल भैसक्यो – अध्यक्ष यादव

उदयपुर, गाइघाट /  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार असफल भएको आरोप लगाएका छन् ।

सोमबार उदयपुरको गाइघाटमा समाजवादी पार्टी प्रदेश नम्बर १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो आरोप लगाएका हुन् ।

यादवले भने ‘आर्थिक वर्षको ७ महिना बित्न लाग्दा १७ प्रतिशत मात्र बजेट खर्च भएको छ । भ्रष्टाचार बढेको छ । देशमा विभिन्न समस्या छन् , समाधान गर्न सरकार असफल भएको छ ।

देशमा लगानी भित्र्याउन तामझाम गरेर लगानी सम्मेलन गरिएको स्मरण गराउँदै उनले भने ‘त्यत्रो तामझाम गरेर लगानी सम्मेलन भयो । तर लगानी आएन । ठीक विपरित मुलुक पुँजी पलायनको समस्याबाट ग्रस्त छ ।

नेकपा नेतृत्वको सरकारमा डेढ वर्ष सहकार्य गर्दा पनि संविधान संशोधनको लिखित प्रतिवद्धता कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीले नचाहेका कारण त्यो यात्रा टुङ्ग्याइएको उनले स्पष्ट पारे ।

यादवले संविधान संशोधनको माग पूरा नगर्ने नेकपा नेतृत्वको सरकारको हठ मूर्खता हो भन्दै सदन र सडकबाट बाध्य पारिने चेतावनी समेत दिए ।

सूचना विधेयक, विशेष सेवा ऐन विधेयक ल्याउने सरकारी तयारीप्रति टिप्पणी गर्दै यादवले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी नियन्त्रणको प्रयास भैरहेको आरोप लगाए । सरकारको कदम हेर्दा यो सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिन्छ ।’ 

फरक प्रसङ्गमा अध्यक्ष यादवले हाल चर्चामा रहेको एमसीसी परियोजनालाई सरकारले संसद्मा प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने यो विषय सरकारले सदनमा प्रस्तुत गर्ने हो । तर सरकार आफै यसबारे अन्योल र अस्पष्ट देखिन्छ ।

यादव पार्टी १ नम्बर प्रदेश समितिले आयोजना गरेको २ दिने प्रादेशिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन गाइघाट आएका थिए ।

सम्बन्धित खवर