अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ – महासचिव कन्दङ्वा – Chautari Khabar

अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ – महासचिव कन्दङ्वा

उदयपुर, गाइघाट / समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले अब पहिचानको निम्ति वास्तविक आन्दोलन हुने बताएका छन् ।

उदयपुरको गाइघाटमा जारी पार्टी प्रशिक्षणमा बोल्दै महासचिव कन्दङ्वाले नेकपा, काँग्रेस, राजावादी लगायत अन्यको मुद्दा पहिचान प्राप्तिको निम्ति नभएकाले भावी आन्दोलनमा उनीहरु सडकमा नहुने जिकिर गरे ।

पहिचानमा आधारित अधिकार सहितको सङ्घीयता चाहनेहरु माग्दै सडकमा हुनेछौं । आम जनताको साथ र समर्थन लिएर राजनीतिक लडाइँमा विजयी हुनुपर्नेछ, कन्दङ्वाले भने ।

पार्टीको विसु अभियान जनतासम्म आफ्ना विचार र मुद्दा पुर्याउने माध्यम भएको भन्दै उनले पार्टी निर्माणको चरण भएकोले वेट एण्ड सी होइन, डु एण्ड सी को नीति अनुसार काम गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रशिक्षणका क्रममा कन्दङ्वाले पार्टीलाई दिगो बनाउन पार्टी कार्यकर्ता सम्बन्धी नीतिको आवश्यकता खड्किएको बताए । उनले भने ‘कार्यकर्ताको क्षमता, योगदान, अनुभव, कार्य कुशलता आदि बारे पार्टीले स्पष्ट नीति बनाएर मूल्यांकन गर्नुपर्दछ । त्यसका आधारमा पार्टी बरियताक्रम तोक्ने काम गर्नुपर्दछ ।’

पार्टीले थालेको ३ महिने विसु अभियान लामो संघर्षको तयारी हो भन्दै कन्दङ्वाले कार्यकर्ताहरुलाई मानिसको आयुसँग राजनीतिको आयु नापेर भ्रममा नपर्न सुझाए ।

यसअघि आइतबारको प्रशिक्षणमा पार्टी उपाध्यक्ष हेमराज राईले पार्टी विधान र नियमावलीको आधारमा जुटेर काम गर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

पार्टीको रणनीतिक लक्ष्य अन्तर्गत १०+१ को पहिचानजनित प्रदेश निर्माणमा लाग्नुपर्ने भन्दै उपाध्यक्ष राईले सो प्राप्तिको लागि सदन र सडकबाट भूमिका खेल्नुपर्ने बताए ।

पार्टी निर्माणमा संगठनको अपरिहार्यतालाई बुझ्न जरुरी भएको भन्दै राईले विसु अभियान अन्तर्गत जनताको घरघरमा पार्टी दस्तावेज र विचार सम्प्रेषण गरिने दावी गरे ।

व्यवस्थित संगठनका माध्यमबाट पार्टीलाई जनतासम्म पुर्याउन विधिसम्मत निर्णयहरुका आधारमा काम गर्नुपर्नेमा उनको जोड थियो ।

आइतबार नै प्रशिक्षणमा उपाध्यक्ष युवराज कार्कीले समाजवादी पार्टीको आजको विचार नुतन विचार भएको बताएका थिए ।

पार्टीले पुँजीवादी र साम्यवादी धार भन्दा पनि नेपालको सामाजिक सांस्कृतिक बनोट सुहाउँदो समुन्नत सङ्घीय समाजवादको तेस्रो धार समाएको उपाध्यक्ष कार्कीले जिकिर गरे ।

पहिचानको राजनीतिको नाउँमा जडवादी सोच राखिनु प्रतिगामी कदम हुने भन्दै उनले नेपालको जातीय, सामाजिक, सांस्कृतिक, लैङ्गिक, क्षेत्रीय, वर्गीय उत्पीडनहरु अन्त्य गर्न प्रगतिशील सोचका साथ अघि बढ्न जरुरी रहेको औंल्याए ।

सोमबार सम्पन्न भएको प्रशिक्षणमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रकम चेम्जोङ, पर्शुराम खापुङ, सचिव पर्शुराम बस्नेतले विभिन्न विषयमा प्रशिक्षण दिएको समाजवादी पार्टी प्रदेश नं १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।

 

सम्बन्धित खवर