मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar
अर्थ

कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलोपटक नेपाली

करिब एक दशकदेखि कम्पनीमा कार्यरत सरिक बोगटीले नोभेम्बरदेखि पूर्ण अधिकारसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्ने छन् ।

Oct 12, 2026 / Milan Gaha

करिब एक दशकदेखि कम्पनीमा कार्यरत सरिक बोगटीले नोभेम्बरदेखि पूर्ण अधिकारसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्ने छन् ।

काठमाडौं — काठमाडौंमा मात्रै दैनिक १० करोड रुपैयाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई नै दिएको छ । कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका हुन् ।

बोगटीका अनुसार कतार एयरवेजको नेपाल कार्यालयमा यसअघि यो पदमा नेपाली नगरिक पुगेका थिएनन् । कोभिड महामारीपछि नेपालमा कतार एयरवेजको कन्ट्री म्यानेजरको पद रिक्त थियो । नेपाल कतार एयरवेजको बंगलादेशमा रहेको कार्यालयमातहत थियो ।

बोगटीका अनुसार गत अप्रिलदेखि पदोन्नति प्रक्रिया अघि बढे पनि पूर्ण अधिकारसहितको जिम्मेवारी नोभेम्बरदेखि हुनेछ । कन्ट्री म्यानेजरको जिम्मेवारीमा पुगेपछि कतार एयरवेजको कमर्सियल गतिविधिसँगै सरकारी निकाय, काठमाडौंमा रहेका विभिन्न दूतावास र अन्य विकास साझेदार निकाय तथा सरोकारवालासँगको सम्बन्धलाई अझ व्यवस्थित बनाउनुपर्ने हुन्छ ।

कलंकीका ४० वर्षीय बोगटीले कतार एयरवेजमा सेल्स म्यानेजरका रूपमा १० वर्षअघि प्रवेश गरेका थिए । त्यसअघि उनी काठमाडौंको एक सवारी साधनसम्बन्धी कम्पनीमा मार्केटिङ तथा सेल्समा काम गर्थे । उनले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा पनि दुई वर्ष काम गरेका थिए । कतार एयरवेजमा प्रवेश गर्दा उनको काम टिकट बिक्री र बजार प्रवर्द्धनमात्रै केन्द्रित थियो । अब भने उनले नेपालमा कम्पनीको व्यावसायिक गतिविधिदेखि सरकारी निकाय र कूटनीतिक क्षेत्रसँगको सम्बन्धसम्म हेर्नुपर्ने छ ।