काठमाण्डौ, कार्तीक २३
पाल्पाको बल्डेङगढी बाट शुरु भएको बलिहाङ राना राजाको जिबन बचाउन शुरु गरीएको बलिहाङ तिहारको मान्यता छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज सोमबार नेपालभर गाई तिहार मनाइँदैछ। विक्रम संवत् २०८३ साल कात्तिक २३ गते अर्थात् नोभेम्बर ९, २०२६ का दिन गाईको पूजा आराधना गरी यो पर्व मनाइँदैछ। हिन्दू धर्म र संस्कृतिमा गाईलाई माता तथा समृद्धिको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ। गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर तथा गहुँत धार्मिक र दैनिक जीवनमा उपयोगी मानिने भएकाले गाईप्रति कृतज्ञता व्यक्त गर्दै पूजा गर्ने चलन रहिआएको छ।आजको दिन गाईलाई नुहाइदिने, फूलमाला लगाइदिने, निधारमा टीका लगाउने तथा मिठा परिकार र घाँस खुवाउने गरिन्छ। धार्मिक मान्यताअनुसार गाईको पूजा गर्नाले सुख, शान्ति, समृद्धि र पुण्य प्राप्त हुने विश्वास छ। तिहारलाई यमपञ्चकसमेत भनिन्छ। पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनकी देवी लक्ष्मीको आराधना, म्हः पूजा र भाइटीका मनाउने परम्परा छ। तिहारको धार्मिक महिमासँगै यसको सामाजिक तथा सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेको छ। देउसी–भैलो, दीप प्रज्वलन, फूलमाला, रंगोली तथा पारिवारिक भेटघाटले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र एकताको सन्देश प्रवाह गर्ने गर्दछ। यस पर्वले मानिस र प्रकृतिबीचको सम्बन्ध, पशुपन्छीप्रतिको माया तथा पारिवारिक सम्बन्धको महत्त्वलाई समेत उजागर गर्दछ। यस वर्षको तिहारअन्तर्गत भोलि गोवर्धन पूजा तथा म्हः पूजा र आगामी बुधबार भाइटीका मनाइने पात्रोमा उल्लेख छ।
