आज किराँत समुदायका उधौली, नेवार समुदायको ज्यापू दिवस एवं यमरी पुन्ही र धान्य पूर्णिमा – Chautari Khabar

आज किराँत समुदायका उधौली, नेवार समुदायको ज्यापू दिवस एवं यमरी पुन्ही र धान्य पूर्णिमा

काठमाडौं । आज किराँत समुदायले उनिहरुको महान् पर्व उधौली र नेवार समुदायको ज्यापू दिवस एवं यमरी पुन्ही मनाउदै छन् ।


आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।
तीन दिनअघि देखी शुुरु हुने पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिविद्का अनुसार किरातभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

धान्य पूर्णिमा

आजको दिन धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व समेत मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवी लगायत स्थानमा मेलासमेत लाग्दछ ।

योमरी पूर्णिमा

यसैगरि नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् ।

योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायका ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
उनिहरुले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

सम्बन्धित खवर