कोरोना संक्रमित तेस्रो व्यक्ति कतारबाट आएका थिए – Chautari Khabar

कोरोना संक्रमित तेस्रो व्यक्ति कतारबाट आएका थिए

काठमाडौँ / कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएका धादिङ निवासी ३२ वर्षका पुरुष भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

बुधबार गरेको प्रेस ब्रिफिङमा संक्रमित रहेको व्यक्ति कतारबाट काठमाडौँ आएर होटलमा बसेका थिए र स्वास्थ्य असहज महसुस भएपछि उनले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएको मन्त्री ढकालले बताए। जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो ।

ती व्यक्तिको आइसोलेसनमा उपचार भइरहेको छ ।

मन्त्री ढकालले होटलका मान्छे र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लगिने बताए । अहिलेको परिस्थितिमा जो जहाँ छ आफ्नो ठाउँ नछोडौँ भनेर ढकालले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर