काँग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह – Chautari Khabar

काँग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ ।

नेपालमा हालसम्म संक्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ संक्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ । काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत ती महिलाले संक्रमण मुलुक बाहिरबाट लिएर नआएको तर सतर्कता नअपनाउँदा संक्रमित बन्न पुगेको उल्लेख गरेका छन् । “समयमै दोहोरो अन्तरराष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन”, उनले उल्लेख गरेका छन् ।

यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूह सबैको तत्काल परीक्षण गर्न उनले सरकारसँग अपिल गरेका छन् । काँग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रवक्ता शर्माले भनेका छन्, “आजको दिन सबैखाले ढिलासुस्ती र अकर्मण्यतालाई छोडेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ ।” अब कुनै पनि हेलचेक्र्याइँ गर्दा समुदायमा संक्रमण फैलिने र परिणाम भयावह हुने भन्दै उनले समयको गम्भीरता अनुरुप सरकारलाई गति बढाउन आग्रह गरेका छन् ।

 

सम्बन्धित खवर