काभ्रेपलाञ्चोकमा विदेशबाट आएका ३५३ सम्पर्कमा – Chautari Khabar

Corona Update

काभ्रेपलाञ्चोकमा विदेशबाट आएका ३५३ सम्पर्कमा

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकका ३५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो ।

१३ स्थानीय तहबाट गत फागुन १६ गतेयता वैदेशिक रोजगारीबाट घर फर्किएकाको विवरण प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पनौती नगरपालिकामा १०१ विदेशबाट फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालयले १३ स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण संकलन गर्न पत्राचार गरेको थियो । बनेपा नपामा ४०, पाँचखाल नपामा ३६, मण्डनदेउपुर नपामा ३७, नमोबुद्ध नपामा १५, धुलिखेल नपामा २० तथा रोशी गाउँपालिकामा १७, तेमालमा १९, भुम्लुमा १८, बेथानचोकमा १६, खानीखोलामा ११, चौँरीदेउरालीमा आठ र महाभारत गाउँपालिकामा १५ जना सम्पर्कमा आएका छन् ।

मण्डनदेउपुर नपामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको धुलिखेल अस्पतालमार्फत निगरानीमा राखिएको डा झाले बताए । पाँचखाल नपामा दुई र बनेपा नपाको एकलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट फर्किएका अन्यलाई ‘होम क्वारन्टाइन’ मै बस्न भनिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यवस्थित क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकालाई स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले निगरानी गरिरहेको डा झाले बताए । “उनीहरुको स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीलाई भन्न वा अस्पताल जान सुझाव दिइएको छ”, उनले भने।

विदेशबाट फर्किएकाको थप जानकारी आए स्थानीय तहमार्फत सम्पर्कमा ल्याइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताएका छन् । उनले भने, “विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कुनै पनि लक्षण देखिएको छैन ।” काभ्रेपलाञ्चोकमा २७ देशबाट घर फर्किएको पाइएको हो । भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कमा उल्लेख छ ।
–रासस

सम्बन्धित खवर


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/chautarikhabar/public_html/wp-includes/functions.php on line 4613

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/chautarikhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111