विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय सामान खरिद गर्छौं – नेपाली सेना – Chautari Khabar

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय सामान खरिद गर्छौं – नेपाली सेना

 

नेपाली सेनाले आइतवार भिडियो कन्फ्रेन्स मार्फत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय सामान खरिद गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको बताए ।
यस अघिमा आम नेपालीको सुुरक्षामा सेना गम्भिर रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको समन्वयमा गुणस्तरीय सामान ल्याउने प्रतिवद्धता जनाए ।

प्रवक्ता पाण्डेले सरकारले प्रदान गरेका दायित्व विधि र प्रक्रिया अनुसार पुरा गर्ने नेपाली सेना प्रतिवद्ध रहेको बताए ।‘मन्त्रिपरिषदको निर्णय हेर्नु भयो भने स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने भनिएको छ’, सहायक रथी पाण्डेले भने, ‘त्यसैले हामीले विभिन्न निकायसँग समन्वय गरेर यथाशिघ्र स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया थालिसकेका छौं ।’

उनका अनुसार सेनासहित विभिन्न निकाय रहेको ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पार्ने काम गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरमा विभिन्न मन्त्रालयसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको पनि प्रतिनिधित्व छ । त्यसैले यो सेनाले मात्र नभइ, सबै निकायले पाएको जिम्मेवारी भएको उनले सुनाए ।

साथै जिम्मेवारी पूरा गर्ने क्रममा आउन सक्ने आक्षेप र चुनौतिलाई बुझेको उनले बताए । पाण्डेले भने, ‘सेनाले नागरिकको जीवन रक्षाका लागि आवश्यक उपकरण गुणस्तरीय र प्रतिष्पर्धी मूल्यमा यथाशिघ्र हासिल गर्नुपर्ने छ ।’ उनले खरिद प्रक्रियामा कुनै द्विधा र शंका नरहोस् भनेर परीक्षणका लागि छुट्टै संयन्त्र तयार गरेको बताए ।
खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त सामाग्रीहरु मात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलिद्वारा मुल्य निर्धारण गरिने, सामाग्री र यातायातको छुट्टाछुट्टै मुल्य निर्धारण गरिने र समय सिमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने सेनाको योजना रहेको सेनाद्वारा जारी विज्ञप्तिमा छ ।

साथै सेनाले सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधी, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाईएको र खरिद गरिने सामाग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीहरु सहितको गुणस्तर नियन्त्रण समितिको गठन गरि कार्य सम्पादन गर्ने योजना रहेको जानकारी दिएको छ ।

सम्बन्धित खवर