काँग्रेस बैठक क्रियाशील सदस्यता विषयमै केन्द्रीत – Chautari Khabar

काँग्रेस बैठक क्रियाशील सदस्यता विषयमै केन्द्रीत

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको आजको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल शुरु भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभापतिकै निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
बैठकले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सही ट्रयाकमा ल्याएको जनाएको छ । संसद् विघटनको असंवैधानिक कदमविरुद्ध ऐक्यबद्ध गठबन्धनका राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्मअनुरुप फैसला आएको निष्कर्षसमेत निकालेको छ ।
संविधानको धारा ७६(५) अनुरुप मुलुकले प्रतिनिधिसभामा १६५ सदस्यको समर्थनसहित नयाँ प्रधानमन्त्री प्राप्त गरेको जनाउँदै बैठकले कोभिड-१९ को महामारी र बाढीपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्यसँगै संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलबीचको सहमतिअनुरुप अघि बढ्न नयाँ सरकारलाई शुभकामना समेत दिएको छ ।
बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी महामन्त्री पूणर्बहादुर खड्काले बैठकको प्रारम्भमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले सभापति देउवा नेपालको प्रधानमन्त्री बन्नुभएकामा बधाई ज्ञापन समेत गरेको छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
बैठकमा आज सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य लेखक, ढुङ्गाना, परियार, पौडेल, गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी ,कणर्बहादुर बुढा र चौधरीले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यसमितिको अर्को बैठक भोलि साउन २९ गते बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनःबस्ने भएको छ ।

सम्बन्धित खवर