चर्चामा इतिहास बोकेको पार्टी कांग्रेसको १४ औँ महाधिवेशन – Chautari Khabar

चर्चामा इतिहास बोकेको पार्टी कांग्रेसको १४ औँ महाधिवेशन

चर्चामा इतिहास बोकेको पार्टी कांग्रेसको १४ औँ महाधिवेशन

भक्तपुर । इतिहास बोकेको पार्टी नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ  भन्ने चर्चा ब्यापक हुन थालेको छ ।

विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न आरोहअवरोह पार गर्दै पछिल्लो १४औं महाधिवेशनको सँघारमा आइपुगेको छ । विसं २००३ को मजदुर आन्दोलनदेखि २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना, २०६२-६३ को दोस्रो लोकतान्त्रिक जनआन्दोलन, संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी जस्ता देशका प्रमुख राजनीतिक आन्दोलन र अभियानमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसको आसन्न महाधिवेशनलाई समाजको तल्लो तहदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा महत्वका साथ हेरिएको छ ।

सङ्घर्षको जगमा नै कांग्रेसको जन्म भएको बताउनुहुने नेका महासमिति सदस्य अधिवक्ता रामचन्द्र त्रिपाठी आसन्न महाधिवेशनमा आउने कांग्रेसको नेतृत्व कस्तो हुने भन्ने विषयले चर्चा पाएको बताउनुहुन्छ । अधिवेशनबाट समाज र राष्ट्रले वडा तहदेखि केन्द्र तहसम्म तत््क्षेत्रको अगुवाइ गरी अभिभावकीय भूमिका निर्वाह गर्नसक्ने नेतृत्वको अपेक्षा गरेको जनाउँदै उहाँ समाजको भावना बुझेर अघि बढ्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता रहेको बताउनुहुन्छ ।

 

“कांग्रेसको आगामी नेतृत्व गतिशील, स्पष्ट दृष्टिकोण भएको हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “समाज र राष्ट्रलाई समुन्नत बनाएर लैजाने समयको गतिलाई आत्मसात् गर्न सक्नुपर्छ ।”

 

स्थापनाको झण्डै आठ दशकका यात्रामा पार्टीभित्रको आन्तरिक सङ्घर्षले समय समयमा क्षति बेहोर्दै आएको कांग्रेसका लागि समग्र पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व अपेक्षा गरिएको छ ।

 

महाधिवेशनका सन्दर्भमा अहिले विभिन्न समयमा घोषित मिति सर्दै आए पनि अब भने चाँडै  महाधिवेशन हुनेमा पार्टीका नेता तथा कार्यकर्ता विश्वस्त बनेका छन् । नेतृत्व विकासको महत्वपूणर् माध्यमका रुपमा महाधिवेशनलाई लिइन्छ ।

 

इतिहासका अनुसार तत्कालीन समयमा बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते तत्कालीन कलकत्ता, भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको जन्म दिएको हो । उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । तत्कालीन अवस्थामा कारागार जीवन बिताएका टङ्कप्रसाद आचार्य सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाइएको थियो ।

 

कांग्रेसको दोस्रो महाधिवेशन  २००४ माघ २० देखि २२ गतेसम्म बनारसमै भएको थियो । महाधिवेशनले कोइरालालाई सभापति निर्वाचित गरे पनि उहाँ हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कावा सभापति बनाइएको थियो । त्यस्तै २००५ फागुन १८ गते भारतको बिहार राज्यको दरभङ्गामा कांग्रेसको तेस्रो महाधिवेशन सम्पन्न भयो ।

 

महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कावा अध्यक्ष बन्नुभयो. । उक्त क्रममा पनि बिपी हिरासतमै हुनुहुन्थ्यो ।  नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा सुवणर् शम्शेरको नेतृत्वमा स्थापित नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गते कोलकातामा एकीकरण भएसँगै नेपाली कांग्रेसको स्थापना भएको थियो ।

एकीकरणसँगै कोलकाताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भई मातृकाप्रसादलाई सभापति छानिइएको थियो । यही महाधिवेशनबाट  कांग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गरेको थियो । पार्टीको पाँचौँ महाधिवेशन २००९ जेठ १० देखि १३ गतेसम्म जनकपुरमा सम्पन्न भयो । सो महाधिवेशनबाट बिपी सभापति चयन हुनुभएको थियो ।

 

पार्टीको छैटौँ महाधिवेशन २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न भएको थियो सो महाधिवेशनबाट सुवणर्शम्शेर  पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो ।  महाधिवेशनले औपचारिक रुपमा समाजवादलाई अँगालेको थियो । त्यस्तै पार्टीको आन्तरिक विवादका कारण २०१४ सालमा पार्टीको विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले बिपीलाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवणर्शम्शेरलाई कोषाध्यक्षमा मनोनयन गरेको थियो । पार्टीको २०१६ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनले बिपीलाई पुनः पार्टी सभापति बनाएको थियो ।

 

विसं २०१७ पुस १ गते नेपाल तरुण दलको सम्मेलनस्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्री गणेशमान , सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार हुनुभयो । तत्कालीन राजा महेन्द्रले आफ्नो महत्वाकाक्षामा राजनीतिक पार्टी बाधक भएको जनाउँदै विसं २०१७ पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्धको घोषणा गर्नुभएको थियो ।

 

विसं २०१७ मा पार्टीमाथिको प्रतिबन्धका बाबजुद प्रजातन्त्र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको कांग्रेसले विसं २०४६ मा अन्य राजनीतिक दल समेतसँगको सहकार्यमा  प्रजातन्त्रको पुनःस्थापना हुँदै २०७२/७३ को दोस्रो लोकतान्त्रिक आन्दोलन आदिमा अगुवाइ गर्दे आएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न मितिमा आफ्ना आठौंदेखि १३औँ अधिवेशनसम्म सम्पन्न गरेको कांग्रेस यतिखेर १४ औँ महाधिवशेन सम्पन्न गर्ने तयारीमा लागेको छ ।

 

महाधिवेशनले पार्टीको आन्तरिक कमजोरीका रुपमा रहेको गुटगत प्रवृत्तिलाई अन्त्य गर्दै देश र जनताले भरोसा गर्ने किसिमको नेतृत्व निर्वाचित गर्नुपर्ने तनहुँका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनाल बताउनुहुन्छ ।

 

कांग्रेसमा युवाको ठूलो पंक्ति रहेको बताउँदै नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहनुभएका उहाँले देशले राजनीतिक रुपमा फड्को मारिसकेको र अबको राजनीति आर्थिक तथा सामाजिक परिवर्तनका लागि हुनुपर्ने बताउनुहुन्छ ।

 

“अवको कांग्रेस नेतृत्व पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई मिलाएर लैजाने हुनुपर्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा निर्वाचित बन्ने वडा तहदेखि केन्द्र तहसम्मको नेतृत्वले आम जनताको भावनालाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन ।”

 

कांग्रेसले देशको समृद्धि र विकासका लागि नेतृत्व गर्नुपर्छ भन्ने आम जनचासोकाबीच महाधिवेशन हुन लागेको बताउने नेका कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्री प्रत्येक जनताको भावनालाई बुझ्ने किसिमको नेतृत्व स्थापित गर्ने जिम्मेवारी कांग्रेसी कार्यकर्तामा आएको बताउनुहुन्छ ।

 

राष्ट्रका समस्याबाट भाग्ने नभै जुधेर समाधान गर्ने किसिमको कांग्रेस नेतृत्व यतिखेर समाज र देशले चाहेको उहाँको भनाइ छ । हेरौं आगामी अधिबेशनले कस्तो नेतृत्व चयन गर्ला .

प्रतिक्रिया:

सम्बन्धित खवर