सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा– नेका भक्तपुर सभापति दुर्लभ थापा – Chautari Khabar

सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा– नेका भक्तपुर सभापति दुर्लभ थापा

सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा– नेका भक्तपुर सभापति दुर्लभ थापा

अहिले नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही शुक्रबार भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा वडा अधिवेशन हुँदैछ । सोही अनुसार क्रमिकरुपले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुन्दैछ ।
यसै प्रसंगमा अधिवेशनको तयारीलगायतका विषयमा नेका पार्टी भक्तपुरका जिल्ला सभापति दुर्लभ थापासँग उहाँकै कार्यकक्षमा भएको कुराकारीको अंशः

नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित तालिका अनुसार हुने पक्कापक्की भएको छ । भदौं १८ गते स्थानीय पालिकाका वडा तहको अधिवेशन हुँदैछ । भक्तपुरमा यसको तयारी कस्तो चल्दैछ ?

भक्तपुरमा अधिवेशनको लागि लगभग तयारी पुरा भएको छ । हामी भाद्र १८ गते वडा तहको अधिवेशन गर्ने तयारीमा छौं । केन्द्रीय प्रतिनिधि चयन भइसकेको छ उहाँसँग पार्टीको सम्पर्क भइसकेको छ । आज भदौ १४ गते केन्द्रीय प्रतिनिधिसहितको जिल्ला समितिको बैठक बसी सकेपछि वडादेखी जिल्लासम्मको अधिवेशन शुरु गर्नेछौं । त्यसका लागि प्रत्येक वडामा प्रतिनिधि खटाउने छौं । निर्वाचन अधिकृत पनि चयन गरी पठाउने छौं । पहिलो चरणमा वडाको अधिवेशन गर्छौ । भक्तपुरका चार स्थानीय तहका ३८ वटा वडामा अधिवेशनका लागि तयारी पुरा गरेका छौं ।

पार्टीको विधान अनुसार स्थानीय तहका वडा इकाइ कमिटीका पदाधिकारी र वडाबाट चुन्ने क्षेत्रीय प्रतिनिधिहरुको संख्या ठूलो छ । निर्वाचन प्रक्रियाबाटै प्रतिनिधि छनोट गर्नुपर्ने अवस्था आए कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पार्टीको अधिवेशन हो । अधिवेशनको एउटा पाटो निर्वाचन पनि हो । निर्वाचनमार्फत नेतृत्व चयनका लागि प्राविधिक रुपमा पनि हामी तयार छौं ।
नेपाली कांग्रेस पहिलो पार्टी हो, जसले नेपालको संविधान अनुसार समानुपातिक र समावेशी विधान निर्माण गरेको छ । त्यो आधारमा पनि वडा तहबाट प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । यसलाई व्यवस्थापन गर्न कठिनाई त छ । तर यसलाई पार लगाउनुको विकल्प छैन । त्यसको पनि व्यवस्था मिलाउँदैछौं ।
यसमा के छ भने वडा तहको अधिवेशनमा जिल्ला तहका नेतृत्वले हस्तक्षेप नगर्ने, स्थानीय वडाका नेता कार्यकर्ताहरु नै बसेर नेतृत्व चयनलगायतका कार्य सम्पन्न गरुन भन्ने उद्देश्य लिएका छौं । जिल्लामा नेतृत्व लिने आकांक्षी नेताहरुले वडामा हस्तक्षेप नगर्ने हो भने धेरै भन्दा धेरै वडामा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरेका छौं ।
किनकी यसको पनि केही आधारहरु छन् । जस्तो यसपटक एउटै वडाबाट कम्तिमा १५ जना र बढीमा क्रियाशील सदस्यताको आधारमा ६५ जनासम्म प्रतिनिधि चयन हुने अवस्था छ । सोही अनुसार वडा इकाई समितिका पदाधिकारी र सदस्यहरु चयन गर्नुपर्ने छ । यस्तो अवस्थामा वडा वडामा निर्वाचन नै हुन्छ भन्ने मलाई लाग्दैन ।
अर्को म जिल्ला सभापति पनि भएको हिसावले सबै नेता कार्यकर्ताहरुलाई सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न आव्हान गरेको छु । यद्यपी लोकतान्त्रिक पार्टीमा कोही इच्छुक हुन्छ भने उसलाई निषेध गर्न सकिन्न । यस्तो अवस्थामा निर्वाचनको प्रक्रियामा जानुपर्ने हुन्छ ।

अधिवेशन लगत्तै स्थानीय तहको निर्वाचन आउँदैछ । अहिले वडा वडामा समेत प्यानल बनाएर निर्वाचनमार्फत नेतृत्व चयन हुँदै गर्दा त्यसको असर स्थानीय तहको निर्वाचनमा पर्न सक्छ । त्यसैले वडामा सर्वसम्मत गर्ने प्रयास पनि भएको होला । यसमा के कस्तो तयारी  छ ?

पार्टीको अधिवेशनमा निर्वाचन मार्फत नेतृत्व चयन हुँदा स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा असर हुन्छ भन्ने कुरामा कुनै तुक र दम देख्दिन । पार्टीभित्र विवाद नगरौं, एकमत कायम गरौं भन्दा भन्दै पनि मत भएपछि मतान्तर हुनु स्वभाविक हो । मतान्तर हुँदैमा त्यसलाई विवाद भन्न मिल्दैन ।
अधिवेशनमा कांग्रेसले कांग्रेस छान्ने हो । स्थानीय तहको निर्वाचनमा कांग्रेस र कांग्रेसको रुख छान्ने की, सूर्य, हलो वा अन्य कुनै चिन्ह छान्ने भन्ने हो । निर्वाचनमा जाँदा पार्टी विधान र अनुशासनलाई पनि कडारुपमा लागु गर्नुपर्छ । कांगे्रस मास बेस पार्टी हो । आफ्नो पक्षले उम्मेदवारी नपाउने वित्तिकै रुखमा नहाली अन्त मतदान गर्ने जुन प्रवृत्ति छ, त्यो विकृति हो, त्यसको अन्त्य गर्नुपर्छ ।
जसरी फुटबलको टुर्नामेन्टको तयारी गर्दा आपसमा प्रतिष्पर्धा गरी तयारी गर्ने हो भने विपक्षी टीमसँग प्रतिष्पर्धा गर्दा टिम स्पिरिटका साथ प्रतिष्पर्धा गरेर विजयी हुने हो, त्यसरी नै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा प्रतिष्पर्धा गर्ने हो ।
यो तथ्य आम कांग्रेसी कार्यकर्ता, नेता, समर्थक र शुभचिन्तकहरुले बुझेका छन । त्यसकारण अधिवेशनमा हुने प्रतिष्पर्धाले स्थानीय, प्रदेश र संघको निर्वाचन असर गर्छ जस्तो मलाई लाग्दैन ।

यसपटक भक्तपुरमा क्रियाशील सदस्यता वितरण र नविकरणमा विगतमा जस्तो विवाद देखिएन । यसले पनि आसन्न अधिवेशन सौहाद्र्रपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्छ की ?

कांग्रेसको मेरुदण्ड भनेकै क्रियाशील सदस्य हो । भक्तपुरमा यसअघिका हरेक अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विवाद भएको थियो । पार्टी नेतृत्व इमान्दार हुने हो भने यस्तो विवाद नआउने रहेछ भन्ने यो एउटा उदाहरण पनि हो यसपालीको क्रियाशील सदस्य नविकरण र वितरण ।
नेतृत्वमा हुने नेताले म पछि नेतृत्वमा मेरो मान्छे वा फलानो नै हुनुपर्छ भन्ने सोच र मान्यता राख्छ भने वडातहदेखी नै त्यही ढंगको तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि सदस्यता वितरण र नविकरणदेखी त्यस्तो खालको गतिविधि गर्नुपर्ने हुन्छ । त्यस्ता नेतृत्वले इमान्दार कार्यकर्ता माथि पनि विश्वास नगरी वडाबाट आफ्नै श्रीमति, छोरा वा भतिजा प्रतिनिधि ल्याउने प्रवृत्ति पनि छ । त्यसले गर्दा विवाद सिर्जना हुँदो रहेछ ।
विगतमा विधान अनुसार सदस्यता वितरण नगर्ने, अधिवेशनका बेला मुठाका मुठा क्रियाशील लुकाउने, दराजमा थन्काउने, अधिवेशनमा गएका प्रतिनिधि रित्तो झोला फर्कनु पर्ने अवस्थामा पनि नभएको होइन ।
यसवर्ष विधान र पार्टी केन्द्रको निर्देशन अनुसार क्रियाशील नविकरण र सोही अनुसार शतप्रतिशत नयाँ सदस्य वितरण गर्ने काम भएको छ । प्रक्रियागत ढंगले काम भएको छ । प्राविधिकरुपमा त्रुटी भएका बाहेक यसपटक जिल्लामा क्रियाशीलमा कुनै तलमाथि गरिएको छैन । यसले गर्दापनि विवादरहित ढंगले काम सम्पन्न भएको हो ।
प्राविधिकरुपमा गल्ती भएकोलाई पनि प्रतिनिधिसँग बसेर छलफल गरी उचित निकास निकाल्ने छौं । कोही कार्यकर्तालाई अन्याय हुने    छैन ।
त्यो बाहेक १४ औं अधिवेशनका दौरान विगतमा के के कमजोरी भए, राजनीतिकरुपमा, सांगठनिक, कांग्रेसको मुल्य मान्यतामा कहाँ के कस्ता कमजोरी भए त्यो बारेमा पनि घनीभुत छलफल गर्नेछौं ।
काम गर्नेबेला मेरा पनि कमीकमजोरी भएका होलान । मेरै पालामा तीनै तहको निर्वाचनमा पार्टीले पराजय भोग्नु परेको छ । त्यसमा सबै दोष सभापतिको मात्र हो की होइन ? मेरा बारेमा अनेक आरोप, टिका टिप्पणी भए होलान । त्यसमा मैले पनि स्पष्ट पार्नुपर्ने होला । यसपटक कांग्रेसका क्रियाशीलले यस्ता कुरालाई पनि ध्यान दिनेछन् ।
अधिवेशन हो, अधिवेशनमा प्रतिष्पर्धा गर्न पाईयो । पार्टीमा नेतृत्वमा जान, प्रतिनिधि जाने प्रयास गर्न पाईयो । यो अधिवेशनमा पार्टीका अग्रज नेताहरुदेखी सबैलाई समेटेर जाने कोशिस रहन्छ । यसपटक धेरै पदहरुपनि छन । कतै छुटीहाले पनि अर्कोमा स्थान पाउन सकिन्छ । महाधिवेशन प्रतिनिधि नै दुई क्षेत्रमा गरी झण्डै ५० जनाको हाराहारीमा जान सकिन्छ । प्रदेश समिति छ, केन्द्रीय समिति छ, केन्द्रीय विभाग छन् ।
त्यसैले अधिवेशनमा त्यस्तो विवाद हुने म देख्दिन र नहुनेमा विश्वस्त पनि छु । भक्तपुरमा कांग्रेसका सबै अग्रजहरु मिल्ने हो भने पनि सबै अट्ने वातावरण छ । नेतृत्वमा जान सकिन्छ । तर यही भक्तपुरमा मात्र बस्ने, रुमलिने, पार्टी र पार्टी सभापतिलाई अफ्ठ्यारोमा पार्ने मात्र हो भने अलग कुरा हो । होइन भने यहाँ विवाद गर्नुको कुनै औचित्य म देख्दिन ।

तपाई अहिले पार्टी सभापतिको जिम्मेवारीमा रहनु भएको छ । तपाई फेरी पनि जिल्ला सभापतिमा नै दोहोरिनु हुन्छ की प्रदेश समिति वा केन्द्रीय समिति कतै जाने तयारीमा हुनुहुन्छ ?

व्यक्तिगतरुपमा मैले केही तयारी गरेको छैन । जिल्ला अधिवेशन हुन अझै एक महिना बाँकी छ । जिल्ला अधिवेशनसम्म सौहाद्र्रपूर्ण वातावरणमा अधिवेशन गराउनुपर्ने जिम्मेवारी मेरो काँधमा छ । नेतृत्वमा आउन चाहनेले आफ्नो टिम बनाउने, सम्पर्क कार्यालय खोल्ने कार्यलाई मैले स्वभाविकरुपमा लिएको छु । क्षेत्रीय अधिवेशनसम्म सम्पन्न गरौं । त्यसपछि के गर्ने भन्ने बारे योजना बनाउने मेरो विचार छ ।
तर एउटा कुरा के हो भने जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा दुर्लभ थापा बाधक बन्दैन । म बाहिर बसेर सर्वसम्मत हुन्छ भने म बाहिरै बस्न पनि तयार छु । प्रतिष्पर्धा गर्नैपर्ने, जिल्ला सभापतिमा लड्नै पर्ने परिस्थिती बन्यो भने पनि दुर्लभ थापा पछि हट्दैन ।
मैले विगतको स्थानीय निर्वाचनमा सूर्यविनायकको नगरप्रमुखको टिकट ल्याउन पनि सक्थें होला । प्रदेशसभाको टिकट छोडेरै आएँ । हुन त मलाई ५० लाखमा टिकट छोडेको भन्ने आरोप पनि लाग्यो । त्यसमा मेरो भन्नु केही पनि छैन ।
म धेरै पदको लोभी पनि होइन । मैले नै खानु पर्छ, मैले नै पाउनुपर्छ भन्ने मान्यता मेरो छैन । फेरी पनि भन्छु, म भक्तपुरमा सहमतिको बाधक बन्दिन । भक्तपुरमा पार्टी संगठन केही कमजोर अवस्थामा छ । अधिवेशन लगत्तै स्थानीय तह, प्रदेश र संघको निर्वाचन पनि आउँदैछ । त्यसैले अहिले यो ढंगले जाउँ भन्दा एउटा परिस्थिती बन्न सक्छ । यसमा पनि दुर्लभ थापा बाधक बन्दैन ।
प्रतिष्पर्धामा गईसकेपछि जित्नु हार्नु एउटा पक्ष रहला तर केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्न पनि मलाई कुनै समस्या छैन । प्रदेश समितिमा जान पनि समस्या छैन । सबै पक्ष बसेर सरसल्लाह गरौं, छलफल गरौं । मै लड्नुपर्छ, दोस्रो पटक पनि मेरै पालो हो भन्ने स्थितीमा म    छैन ।
यो बारेमा क्षेत्रीय अधिवेशन सकेपछि सबै आकांक्षीसँग एक दुई चरण बसेर छलफल गर्छु । जिल्ला सभापति भएका नाताले पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्छु । छलफल गर्दा सर्वसम्मत हुने परिस्थिती रह्यो भने म बाधक बन्ने पक्षमा छैन । तर यस्तै परिस्थिती रहयो, भक्तपुरमा फेरी एकपटक पार्टी नेतृत्व गर्नुपर्ने अवस्था आए आम कार्यकर्ताहरुसँग छलफल गरेर मात्र निर्णय गर्नेछु र पछि पनि हट्ने छैन ।
मेरो कुनै कोहीसँग प्रतिष्पर्धा छैन । मेरो प्रतिष्पर्धा भनेको लोकतान्त्रिक मुल्य मान्यता र आदर्शसँग छ । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको आँच आउने काम म बाट हुने छैन ।

अन्तमा केही ?

अन्तमा म के भन्न चाहन्छु भने । पार्टीको १४ औं महाधिवेशनको संघारमा छौं । यसलाई भव्य र सभ्यरुपमा सफलतापूर्वक सम्पन्न गर्ने आम नेपाली कांग्रेसप्रति आस्थावान नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, पेशा व्यवसायकर्मी, युवा विद्यार्थीहरुको जिम्मेवारी पनि हो ।
कांग्रेसको यो महाधिवेशनलाई सफल बनाउन सबैले आ–आफ्नो तह र तप्काबाट ईमान्दार ढंगले लागी परौं भनी आह्वान गर्न चाहन्छु र सक्षम, इमान्दार, स्वच्छ छवी भएका, पार्टीलाई सही ढंगले नेतृत्वदायी भूमिका निभाउन सक्ने नेतृत्व चयन गरौं भन्ने आह्वान पनि चौतारी खबरबाट गर्न चाहन्छु । जगत प्रजापति

सम्बन्धित खवर