नेपाली कांग्रेसका वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न – Chautari Khabar

नेपाली कांग्रेसका वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसका वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न

 

भक्तपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।

सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भन्नुभयो । उहाँले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गर्नुभयो । नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफदिँदैं प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुर्लभ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिनुभयो । प्रधानमन्त्री देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउनुभयो । उहाँले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको महाधिवेशन वडास्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।” कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले अबको स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताउनुभयो । कार्यक्रम कांग्रेसका वडासभापति राजु ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । भक्तपुरको चारवटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन शुरु भएको बताउँदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसम्मति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताउनुभयो । भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा तीन हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना छन् ।

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँ÷नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिबारसम्म आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन शनिबारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने उहाँले बताउनुभयो । यस बाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ नगर वडाअधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन । वडाअधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक वडाअधिवेशनमा मतदाता सङ्ख्याको अनुपातका आधारमा वडासदस्य र क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित हुन्छन् ।

महाधिवेशनअन्तर्गत गाउँ नगरवडा अधिवेशन आज भदौ १८ गते, गाउँ नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

 

सम्बन्धित खवर