शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिने – Chautari Khabar

शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिने

शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिने

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न पशुपतिनाथको मूल मन्दिर साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै आज क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज क्षमा पूजा गरेपछि भोली शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने भएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । अहिले पनि कोरोना जोखिम कम भए पनि पूणर्रूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने भएको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । तर विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताएका छन् ।

शुक्रबार बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको थियो । साढे चार महिनापछि खुल्न लागेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको छ । विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो । महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायतको निणर्य पछि गरिने कोषले जनाएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ । भोली शुक्रबारदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिने भएको छ ।

सम्बन्धित खवर