२०४७ यता सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर – राप्रपा – Chautari Khabar

२०४७ यता सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर – राप्रपा

२०४७ यता सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी नाजायज ढंगले आर्जन गरिएको सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपाले माग गरेको छ ।

काठमाण्डौंमा भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भए पछि जारि गरिएको प्रेस विज्ञप्ति मार्फत राप्रपाले विगतमा भएका सुनकाण्ड, वाईड बडि जहाज खरिद काण्ड, बालुवाटार स्थित ललिता निवास जग्गा काण्ड, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, यति समुहसँग जोडिएको भ्रष्टाचार, एनसेल कर छलि प्रकरण, माओवादी लडाकु भत्तामा भएको लुट, स्थानीय तहमा भएका भ्रष्टाचार लगायतका अनियमितता र भ्रष्टाचारको छानविन गर्न र दोषीलाई कारबाही गर्न समेत सरकारसँग माग गरेको छ ।

यसैगरि तत्कालिन नेपाल सरकार र ब्रिटिश सरकारका बिचमा भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय बर्ष नाघि सकेको तर आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको हुनाले ब्रिटिश गोर्खाका पुर्व सैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै उठाउँदै आएका जायज मागहरु प्रति राप्रपको समर्थन रहेको तथा यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्ष प्रति एक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दै ति मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपाले विज्ञप्ति मार्फत नेपाल सरकारको ध्यान आकर्षण गरेको छ ।

तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँको शान्ति सुरक्षा खलबलिएको अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षावारे राप्रपाले चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न समेत राप्रपाले नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपाको काठमाण्डौमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्था सुदृढ गर्न रणनीतिक कार्ययोजना पारित गर्दै आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने वैधानिक वाध्यतालाई दृष्टिगत गर्दै र कोभिड महामारीको तेस्रो संभावित खतरालाई मध्यनजर राख्दै युद्धस्तरमा कोभिड विरुद्धको खोप लगाउने काम गरियोस् भनी सरकारसँग उक्त बैठक माग गरेको छ ।

त्यस्तैगरि उक्त बैठकले पार्टीको महाधिवेशन तोकिएकै समय कार्तिक २७-३० मा गर्ने गरि वडादेखि सबै तहको निर्वाचनको प्रस्तावित परिमार्जित तालिका पारित गरेको छ ।

 

सम्बन्धित खवर