एमाले एकता तुहियो – Chautari Khabar

एमाले एकता तुहियो

एमाले एकता तुहियो , नेपाल सहितका नेता निर्वाचन आयोगमा
भक्तपुर । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएका छन् । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुग्नुभएको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।
प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थित भएको चौतारी खबरलार्ई बताएका छन् । उहाँहरूका साथमा प्रदीपकुमार नेपाल पनि संगै आउनु भएको छ । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु अहिले सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको थियो ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत संख्या चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याउन खोजेका छन् । दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए । झलनाथ खनालले पनि दूतावासमार्फत नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।
भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् । ‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको हो । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई समेत जानकारी दिएका छन् ।
यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोगमा उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।
यसैबीच नेता सोमप्रसाद पाण्डे लगायतका नेताहरुले निर्वाचन आयोगमा समाजवादीको पक्षमा रहेको भन्दै दिएको निवेदनबारे भने आयोगले कुनै निणर्य गरेको छैन । आयोगले सनाखत भएको खण्डमा आजै नयां दल दर्ताको प्रमाणपत्र उपलब्ध गराईने बताईएको छ ।

सम्बन्धित खवर