काठमाडौं, ९ मंसिर २०८३ ।
सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुवै पक्षको बहसपछि कार्कीको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।कार्यभार सम्हालिसकेको अवस्था गत १८ कात्तिकमा मन्त्रिपरिषद्ले डा मनोजकुमार केसीलाई आईजीपी पदमा बढुवा गरेसँगै उनले नियुक्ति बुझी सोही दिनबाट कार्यभार सम्हालिसकेको देखिएको अदालतले उल्लेख गरेको छ।शान्ति सुरक्षा र नेतृत्वको संवेदनशीलतास् प्रहरी संगठनको नेतृत्व तथा कमान्ड प्रणाली देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले अन्तरिम आदेशमार्फत तत्काल हस्तक्षेप गर्न उपयुक्त नदेखिएको इजलासको ठहर छ।अन्तिम सुनुवाइबाटै निरूपण निवेदकले उठाएका कानुनी प्रश्न र माग गरिएको न्यायिक उपचार रिटको अन्तिम सुनुवाइका क्रममा नै टुंग्याउनु उपयुक्त हुने आदेशमा भनिएको छ। यद्यपि, विषयको गम्भीरता र सार्वजनिक महत्त्वलाई हेर्दै रिटलाई प्राथमिकतामा राखेर शीघ्र अन्तिम निर्णय गर्नुपर्ने आवश्यकता अदालतले औँल्याएको छ। गत १८ कात्तिक २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी डा मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो।सरकारको उक्त निर्णय गैरकानुनी रहेको भन्दै कार्कीले निर्णय बदर गरी आफूलाई आईजीपी पदमै पुनर्बहाली गर्न र नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको यो आदेशसँगै डा केसीलाई नेपाल प्रहरीको नेतृत्व सम्हाल्न तत्कालका लागि कानुनी बाटो खुला रहेको छ भने कार्की विशेष सुरक्षा सल्लाहकारकै भूमिकामा रहने भएका छन्।










