कर्णाली मंसीर ८
दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु ।
नेपालको राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद आज ९मंसिर ९० देखि सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतलाई मुख्य केन्द्र बनाएर सञ्चालन हुने प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद्को कार्यतालिकाअनुसार आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते अर्थात् डिसेम्बर २ मा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। प्रतियोगिता डिसेम्बर १३ सम्म सञ्चालन हुनेछ।११ टोली, ३२ खेल र १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ एनआरएनए गरी ११ टोली सहभागी हुँदैछन्।
प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ। खेलाडीहरूले कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार करिब ६ हजार ५०० खेलाडी सहभागी हुने अपेक्षा छ।संघीयता कार्यान्वयनपछि कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाएको हो।
प्रतियोगिताका २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने बाँकी खेल कर्णालीका अन्य जिल्ला तथा लुम्बिनी प्रदेशका नेपालगन्ज र बर्दियामा आयोजना हुनेछन्।
दशौँ राष्ट्रिय खेलकुद केवल पदक जित्ने प्रतिस्पर्धा मात्र होइन, कर्णालीको खेल पूर्वाधार, पर्यटन र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण अवसर पनि हो। अब प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु र निर्माण भएका पूर्वाधारलाई दीर्घकालीन रूपमा उपयोग गर्नु मुख्य चुनौती हुनेछ।











