काठमाडौं, मंसिर ७।
प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई अदालतको म्याद औपचारिक रूपमा तामेल भएको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ अघि बढ्न नसकेको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबारका लागि पेसी तोकिएको थियो। तर अदालतमा म्याद तामेलीको प्रक्रिया पूरा नभएको जानकारी गराइएपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल हुन सकेन।
सर्वोच्च अदालतले अब मंसिर ९ गते पुनः सुनुवाइ गर्ने गरी पेसी तोकेको छ। त्यसका लागि नवनियुक्त आईजीपी केसीलाई अदालतको म्याद तामेल भएको प्रमाण पेस गर्नुपर्नेछ।
सरकारले गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यसपछि सरकारले डा। मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
आफूलाई कुनै स्पष्टीकरण नसोधी तथा आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट हटाइएको भन्दै कार्कीले सरकारको निर्णय गैरकानुनी भएको दाबी गरेका छन्।
उनले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न माग गरेका छन्। साथै, नयाँ आईजीपीको नियुक्ति कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।
यसअघि सर्वोच्च अदालतले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
अब मंसिर ९ गते हुने सुनुवाइमा अदालतले कार्कीको पुनर्बहालीसम्बन्धी माग र सरकारको निर्णय कार्यान्वयन रोक्ने विषयमा के आदेश दिन्छ भन्ने चासो बढेको छ। यो विवाद केवल प्रहरी नेतृत्व परिवर्तनको विषयमा सीमित छैन। निश्चित कार्यकाल तोकिएको प्रहरी महानिरीक्षकलाई सरकारले कुन कानुनी आधारमा पदबाट हटाउन सक्छ भन्ने प्रश्नसमेत यस मुद्दासँग जोडिएको छ। सर्वोच्च अदालतको आगामी आदेशले प्रहरी संगठनको नेतृत्व र सरकारको प्रशासनिक निर्णयको कानुनी वैधताबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।










