काठमाण्डौ मंसीर १०,
संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
स्याङ्जा करेन्डाँडा–४ स्थायी वतन भएका ५९ वर्षीय अर्याललाई मङ्सिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको कैलाश खड्का समेत प्रतिवादी भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अर्यालको संलग्नता रहेको दाबी गरिएको छ।
प्रकरण अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र विपरीत गैरकानुनी रूपमा श्रमिकहरूबाट ठगी गरी संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९।९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०।८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत मलेसिया पठाउने निर्णय गरिएको आरोप छ।
अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको मुद्रा संचितीकरणमा नोक्सानी पुर्याउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष रूपमा संलग्न रहेको तथा संगठित समूहको लाभका लागि पदीय जिम्मेवारी र कर्तव्यविपरीत कार्य गरी आर्थिक लाभ लिने–दिलाउने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।
यस प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट मिति २०८३ मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको थियो। सोही क्रममा अर्याललाई सीमाक्षेत्रबाट पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।










